नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, चितवन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनको यस वेवसाइटमा हार्दिक स्वागत छ ।

खैरहनी घोषणा पत्र (२०८१ भाद्र २९)

 

खैरहनी घोषणा पत्र (२०८१ भाद्र २९)


हामी यस कार्यक्रममा सहभागी चितवन जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू आज चितवनका सात वटै पालिकाबाट प्रतिनिधिमूलक रूपमा प्रस्तुत असल अभ्यास र विद्यार्थीको सिकाइ आवश्यकतालाई मनन् गरी आफू कार्यरत सामुदायिक विद्यालयको शैक्षिक सुधारका साथै सार्वजनिक शिक्षा सुधारको लागि निम्न प्रतिवद्धता ब्यक्त गर्दछौ ।

·        हाम्रा सफल अभ्यास तथा अनुभव आदान-प्रदानबाट सिक्ने र शिक्षकको पेशागत व्यवसायिकता विकासकोलागि सामुहिक प्रयासलाई निरन्तरता दिने ।

·         सामुदायिक विद्यालय सुधारको लागि निरन्तर मेहनत र प्रयत्न गर्ने। शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, जो सुकै व्यक्ति तथा संस्थालाई पनि सम्मान गर्ने र सकारात्मक सहयोग गर्ने वातावरण निर्माण गर्ने ।

·        एकल प्रयासबाट सामुदायिक विद्यालय सुधार सम्भव नहुने भएको हुँदा विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधकारीहरू, शिक्षकहरू लगायत सबै मिलेर साझा प्रयास गर्ने पद्धतिलाई स्थापित गर्ने। विद्यालयले हासिल गरेका उपलब्धि र सफलताको जस समेत सामुहिक रुपमा लिने प्रणाली स्थापित गर्ने।

·        बालबालिकाको व्यक्तित्व विकासको आधार र विद्यालय शिक्षाको जगका रूपमा रहेको प्रारम्भिक बाल विकास शिक्षालाई उच्च प्राथमिकता दिई बाल विकास कक्षाको सुदृढीकरणमा जोड दिने।

·        माथिल्ला कक्षाका परीक्षा(BLE, SEE, SLC)मा देखिने कमजोर सिकाइ उपलब्धि सुधार्न तथा शैक्षिक क्षति कम गर्न निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणालाई सही रूपमा कार्यान्वयन गरी प्रारम्भिक कक्षामा आधारभूत गणितीय तथा भाषिक दक्षता हासिल गराउने गरी बालमैत्री र प्रविधिमैत्री विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गर्ने।

·        सामुदायिक विद्यालयमा बालबालिका पठाउने अभिभावकहरू अधिकांश आर्थिक रुपमा विपन्न, सामजिक रुपमा पछाडि पारिएका हुने हुनाले विद्यालयहरूले अभिभावक भेटघाट, छलफल, अन्तरक्रिया लगायतका अभिभावक जागरणका कार्यक्रम सञ्चालन गरी बालबालिकालाई घरमा सिकाइ योग्य वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने कार्यलाई  प्राथमिकताका साथ अगाडि बढाउने।

·        युग सापेक्ष सिकाइमा ICT को उपयोग गरी सिकाइ क्रियाकलाप  गर्न सक्ने गरी सबै शिक्षकमा कम्प्युटरको आधारभूत सिप विकास गर्ने।

·        अभिभावक तथा सरोकारवालाको नियमित अन्तरक्रिया, छलफल, अभिभावक भेटघाट तथा घरदैलो लगायतका कार्यक्रम मार्फत् विद्यालयका गतिविधि पारदर्शी गराई विद्यालय र समुदाय बीचको सम्बन्ध सुमधुर बनाउने।

·        विभिन्न संघसस्था, निकाय र सहयोगी व्यक्तिको खोजी गरी विद्यालयको भौतिक अवस्था बालमैत्री, अपाङ्गता मैत्री, छात्रा मैत्री र सिकाइ अनुकुल बनाउन प्रयास गर्ने।

·        विद्यार्थीको सिकाइ उपलब्धि लगायतका विद्यार्थीका अभिलेख दुरुस्त राख्‍ने र तथ्याङ्कहरूको विश्लेषण गरी सार्वजनिक गर्ने।

·        विद्यालय सुधार योजना अभिभावक र सरोकारवालाको व्यापक सहभागितामा निर्माण गर्ने र उक्त योजनामा गर्न सकिने र व्यवहारिक कुराहरू मात्र समावेश गरी सोही योजना विद्यालय विकासका काम गर्ने वातावरण निर्माण गर्ने।

·        विद्यार्थीको सामाजिक सीप, नेतृत्व सीप विकास गर्न र सिर्जनात्मक क्षमताको विकास गर्न बाल क्लब, इको क्लब, जुरेस, स्काउट आदि गठन गरी उनीहरूका काम र भूमिका निर्धारण गरिदिने, नियमित बैठक गर्न उत्प्रेरित र सहयोग गर्ने, साथै कार्यक्रम गर्न मार्ग दर्शन गर्ने।

·        अतिरिक्त क्रियाकलापको छुट्टै योजना तयार पारी सबै विद्यार्थी आफैं सक्रिय भएर सहभागी हुने र प्रतिभा प्रस्तुत गर्न पाउने अवसर प्रदान गर्ने ।

·        विद्यालयमा विषयगत समिति गठन गर्ने, शिक्षकलाई जिम्मेवारी तोकेको पत्र दिने, शिक्षक कर्मचारीलाई स्पष्ट रुपमा भूमिका तोक्ने, राम्रो गर्नेलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्ने । शिक्षकहरूले एकापसबाट सिक्ने र सिकाउने संस्कृति निर्माण गर्ने । शिक्षकले शिक्षकको व्यवसायिक दक्षता बृद्धिको लागि सहयोग पुर्‍याउने । राम्रो गर्ने शिक्षकलाई थप काम गर्न उत्प्रेरित गर्ने।

·        विव्यस र शिक्षक अभिभावक संघको नियमित बैठक बसी विद्यालयको शैक्षिक सुधारको विषयमा छलफल र निर्णयहरू गर्ने र सामाजिक परीक्षण, लेखा परीक्षण गर्ने जस्ता कार्यहरू तोकिए बमोजिम पारदर्शी रूपमा सम्पादन गरी शैक्षिक सुशासन कायम गर्ने।

·        विद्यालयलाई पढ्ने-पढाउने नभई सिक्ने-सिकाउने थलोका रूपमा विकास गर्ने दृष्टिकोणबाट सबै शिक्षकलाई अभिमुखीकरण गर्ने गराउने।

·        सबै सरोकारवालाको साझा प्रयत्‍नबाट सामुदायिक विद्यालय सुधार र सबै अभिभावकको आकार्षणको केन्द्र बनाउन सम्भव छ भन्ने मान्यतालाई आत्मसात गरी त्यसै अनुसार आगामी कार्यक्रमहरू तय गर्दै जाने।

च   चितवन पोष्ट




ci



Post a Comment

Previous Post Next Post