नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, चितवन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनको यस वेवसाइटमा हार्दिक स्वागत छ ।

रिस र यसको समाधान, विष्णुप्रसाद भण्डारी



रिस र यसको समाधान


विष्णुप्रसाद भण्डारी
अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समिति

 

परिचय
रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो । रिस एक प्रकारको भावनात्मक संवेग हो । रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्ने हुँदैन । भागवद्गीता अनुसार जो हामीभित्र रहेको अभिलासा (इच्छा) छ त्यो पूरा भएन भने रजोगुणको कारण बदलिएर क्रोध (रिस) बन्छ । हामीलाई लाग्छ कि रिस देखाएर मानिसहरू ठिक गर्न सकिन्छ यो हामीभित्रको भावनात्मक भ्रममात्र हो । कहिलेकाहीँ हामीलाई लाग्छ कि कुनै कार्यमा उत्प्रेरित गर्न कसैलाई बदल्नको लागि रिस देखाउनुपर्दछ । जसको कारण ऊ डराएर गतल बाटोबाट सही बाटोमा आउँछ तर त्यस्तो होइन । यो आक्रोश र आवेगले भरिएको हुन्छ । यसबाट मात्र प्रतिरोध हुन्छ । यसले सकारात्मक परिवर्तनसमेत हराउन थाल्दछ । रिसलाई उपयोग गर्नु अल्छी मानिसको तरिका हो । यसलाई भावानात्मक धम्कीको रूपमा हेर्न सकिन्छ । जस्तै यो काम गर नत्र म रिसाएँ भन्ने....... । यसले दोस्रो व्यक्तिलाई डर पैदा गर्ने प्रयास हुन सक्छ अधिकांश बुबाआमा आफ्ना छोरा छोरीलाई रिसाएर बहसमा ( काबुमा ) लिन प्रयास गरेका हुन्छन् । तर त्यो तत्काललाई सम्भव जस्तो देखिए पनि दीर्घकालको लागि बेठिक छ। जो रिसाउँछ ऊ आफैमा पीडित हुन्छ । कसैले यसलाई भावनाको रूपमा हेरेको पाइन्छ। जुन न्यायको अनुपस्थितिमा हुन्छ । कोही रिसाउँदा आफू पनि रिसाउनु त्यो रिसलाई सन्तुलित गर्नको लागि एकमात्र तरिका हो भन्ने पनि पाइन्छ । कहिलेकाहीँ यो युद्धको रूपमा परिणत हुन पनि सक्छ । दुई नकारात्मकको परिणाम सकारात्मक आउँछ भन्नु यो सर्वथा भ्रममात्र हो ।

रिसको रूप

यसलाई दुई भागमा बाँड्न सकिन्छ:

१. ठुलो (स्थूल) रूपः रिसको रूप शरीरको भाषाको माध्यमबाट प्रकट हुन्छ । उसको अर्को व्यक्तिप्रतिको हाउभाउ, हेराइ, निधारको खुम्च्याईं, चेहराको रङ्गमा परिवर्तन भएर रातो रातो देखिनु, गर्दनका नशा फुलिनु, आँखामा परिवर्तन आउनु, शरीर तनावग्रस्त हुनु, अधिकाँश महिलामा आँसु आउनु, चेहरा रातो रातो हुनुका साथै उत्तेजित हुनु, पुरुष तथा महिला दुवैका मांशपेशीहरूमा पसिना निस्किनु, हड्बडाउनु ।

२. सूक्ष्म रूप: रिसको सूक्ष्म रूप पत्ता लगाउन निकै कठिन हुन्छ । यो धेरै नै घातक हुन सक्छ । यो धेरै जसो मनमा विचारको रूपमा बन्दछ र धारणा तथा ज्ञातअज्ञात नोतद्वारा नकारात्मक कम्पनको माध्यमबाट सुरु हुन्छ । मन गहन एकाग्रता तथा चिन्तनमा काम गरिरहँदा लगभग स्थिर हुन्छ र बुद्धि कमजोर र असहाय बन्दै जान्छ । नकारात्मक चिन्तन बढ्नुको कारण तर्क गर्न क्षमता घट्दै जान्छ । अरुले भनेको सुन्ने क्षमता घट्दै जान्छ । विचार गर्ने क्षमता कमजोर हुन्छ र आफ्नो नजिकको मानिससँगसमेत संवाद गर्न अनिच्छुक भइन्छ। यो रिसको सूक्ष्म रूप हो ।

रिसले शारीरिक तथा मानसिक दुवै किसिमको ऊर्जालाई नोक्सान पुऱ्याउँछ । रिसलाई शान्त गर्न नसक्ने हो भने आपराधिक घटनासमेत घट्न सक्छ । अर्थात् शरीरमा अपराध बोधको भावना उत्पन्न हुन्छ । यसले गम्भीर तनाव उत्पन्न गराउँछ । जब कोही मानिस अत्यन्त रिसाउँछ, तब ऊ एक्लै बस्न चाहन्छ । कसैको कुराको पनि विश्वास गर्दैन । आफैमा घमण्ड उत्पन्न हुन्छ । वास्तवमा रिसले नजिकका साथीभाइहरूसमेत प्रभावित हुन्छन् ।

कसैलाई पनि रिस उठाउन प्रोत्साहित गर्नु हुँदैन किनकि यो हावा हुरीमा फैलिएको आगो जस्तै आफ्नो काबुमा (बहसमा ) ल्याउन मुस्किल हुन्छ ।  

आध्यामिक दृष्टिबाट हेर्दा रिस मनमा उत्पन्न हुने नकारात्मक विचारहरूको प्रवाह हो । मन आत्माको एउटा भाग हो । जहाँ सबै प्रकारका विचारहरू उत्पन्न हुन्छन् । नकारात्मक विचार दृष्टि, ध्वनि, गन्ध, स्पर्श र स्वादको साथ साथै वायु, जल, पृथ्वी, ताप (तेज) र आकाश (इस्थर) पञ्चमहाभूत ( तत्त्व ) द्वारा प्राकृतिक रूपबाट प्रभावित हुन्छ । नकारात्मक विचारहरूको स्रोत रिस (क्रोध), छुच्याइँ, अहङ्कार, कामवासना र आशक्तिको लक्षण हो । खोज गर्दा यस्तो भेटिएको छ कि महिला तथा पुरुष दुवैमा रिस भेटिन्छ । सामान्यतया धेरै महिलाहरूमा इर्ष्या गर्ने प्रवृत्ति हुन्छ भने अधिकांश पुरुषहरू अहङ्कारी हुन्छन् । प्रकृतिमा शारीरिक बल धेरै भएको कारणले पुरुष अहङ्कारी हुन्छ र बदला लिनु पर्यो भने शारीरिक हिंस्रक तरिका अपनाउँछ भने महिलाहरूले मानसिक पिटाइको तरबार चलाउँछन् ।

रिसको प्रमुख स्रोत:

घरेलु हिंसा हुनु पारिवारिक जीवन टुट्नु रिसको प्रमुख स्रोत हो । यसको मुख्य कारण वासना, लोभ मनमा उब्जिनु र त्यसको प्रयोग गर्दा परिवारका सदस्यले थाहा पाउनु र रिसको आवेगलाई थाम्न नसक्नु हो । रिसको दोनो स्रोत शक्ति र प्रभुत्व जमाउनु हो । जसले विनम्रता ह्रास गराउँछ । यस्तो अवस्थामा अहङ्कारको प्रशंसा र पूजा हुन्छ । नैतिकता हराएर जानु क्षणिक रिसद्वारा तनाब उत्पन्न हुन्छ र त्यो तनाव मानवको शिरमा झुण्डिएको हुन्छ । जसले डर उत्पन्न गराउँछ र घातक बिमारीसमेत हुन पुगिन्छ । नैतिकता हराउँदै जान्छ । हाम्रो जनजीवनमा प्रयोग हुने उखानले पनि भन्छ कि, 'रिसले आफू खा बुद्धिले अरु खा।'

रिसको लक्षणः

रिसको आगोले धेरैका परिवारहरू अहिलेको समयमा जलिरहेका छन् । यो जलिरहने कुरा दिन प्रतिदिन बढिरहेको छ । यो आगो उनीहरूको जीवनमा आउनेवाला कठिनाइहरूका आँधीद्वारा प्रभावित हुन्छ । यो एउटा महामारी रोगको सरह फैलिरहेको छ । जो एक व्यक्तिबाट अको व्यक्तिमा फैलिरहेको छ । भनिन्छ, 'रिस पागलपनबाट सुरु भएर पश्चातापमा गएर समाप्त हुन्छ।' रिसले मानिसको चेतनालाई नष्ट गर्दछ । व्यक्तिको रगत तातेर आउछ र अनेक प्रकारका रोगहरूको जन्म दिन्छ ।
हाम्रो परिवारका कुनै सदस्यहरू सजिलै रिसाउँछन् भने कुनै कम मात्रामा । छिटै रिसाउनेले रिसलाई आफ्नो काबुमा राख्न मुस्किल हुन्छ भने ढिलो रिसाउले रिसलाई आफ्नो नियन्त्रणमा राख्न सफल भएका हुन्छन् ।

रिसले परिवारमा घृणा, तनाव उत्पन्न गरेर परिवारमा कहिल्यै आनन्द मिलिरहेको हुदैन। रिसले गर्दा अपशब्दको प्रयोग हुनसक्छ र दुश्मनीपन समेत बढ्दछ । रिसलाई थाम्न नसकेर कुनै परिवारमा विचलन आउन सक्छ । रिसले विफलताको बिउ रोपिरहेको हुन्छ । रिसको बिउ अहङ्कार वा कमजोर दिमाग हो । मनको शक्ति बढाएर आफै रिसलाई मुक्त गर्नु पर्दछ । रिस उठ्यो भने त्यो ठाउँ छोडेर अर्को ठाउँ एकान्तमा एकछिन बसेर पनि शान्त पार्न सकिन्छ । रिसाएको बेला कम बोल्नु श्रेयस्कर मानिन्छ । फरक भावना आउनु संवेदनशील स्वभावमा कमी आउनु पनि रिसको स्रोत हुन सक्छ। रिसको कारणले हतारमा गरेको निर्णय फुर्सदमा पछुताउनुको विकल्प नहुन सक्छ ।

जब कोही तपाईंसँग रिसले बोल्दछ भने तपाईं निश्चित रूपले उसँग प्यारले बोल्नु राम्रो हुन्छ । प्यारको शब्दबाट सिंह पनि तपाईंसँग रतिएर भनेको मान्ने हुन्छ र हिंस्रकपन छोड्छ । घरलाई शान्तिको मन्दिर बनाउनु छ भने अवश्य रिसलाई आजै त्यागौं र धैर्य तथा क्षमाको हतियार प्रयोग गरौं नकि अन्य अस्त्रशस्त्र । बृद्ध व्यक्तिमा परिपक्व विचार हुन जरुरी छ । जसले युवा पिढीको

बाटो देखाउन सकोस् । उसले आफ्नो उच्च व्यवहारको माध्यमबाट सम्मान आर्जन गर्न सकोस् । यदि हामी युवा दिनमा खुसी हुन सकिएन भने वृद्ध अवस्थामा झन् गाहो हुन्छ । रिसमाथि आफूले विजय प्राप्त गरेर आफ्नो घरमा खुसी ल्याएर जीवनलाई फूल फुले झैं बनाऔं । लडाईं तथा घृणालाई त्यागेर एक दोस्रोलाई माया ( प्यार) गरौँ कोमल शब्दको प्रयोग गरेर बोलौं ता कि दोस्रो व्यक्तिको हृदयमा पनि शान्ति मिलोस् ।

रिसको शारीरिक सङ्केतः

शारीरिक लक्षणमा क्रोध तथा तनावले हृदय (मुटु)को धड्कनको दरमा वृद्धि हुन्छ । जसले गर्दा उच्च शिर दर्द ( टाउको दुख्नु), छाती दुख्नु, खानेकुरा नपच्नु, क्रोनिक थकान बढ्नु अनिद्रा ( निद्रा नआउनु) जसको कारण दुर्घटनाग्रस्थ हुन सक्छ ।
रक्तचाप,
मानसिक सङ्केतः

रिसको मानसिक कारण तनावप्रेरित हुन्छ । जसले गर्दा चिन्ता, असन्तोष, थकावट, चिडचिडापन, सानो कुरामा पनि रिस उठ्नु र अल्छीपन बढ्दै जान्छ ।

रिसको रोकथाम र उपचारात्मक उपायः

सबैभन्दो रिसको प्रबन्ध गर्नु नै रिसको रोकथाम हो । रिस आगो जस्तै विनाशकारी शक्ति हो। तपाईं हाम्रो घर, व्यवसाय, इज्जत सबै यसले नष्ट पार्दछ। रिसले पुऱ्याउने नोक्सानभन्दा पहिले नै यसको रोकथाम गर्नु जरुरी छ । यसबाट बच्न उत्तेजनाको पहिचान गर्नु र अविश्वासलाई विश्वासमा परिणत गर्नुपर्छ । नकारात्मक सोच प्रणालीले उत्तेजना ल्याउँछ र रिस उठ्छ । त्यसैले नकारात्मक सोच प्रणालीलाई हटाऔं । अरुलाई दोष दिने बानी त्यागौं । कसैप्रति गलत धारणको विकास भएको छ भने वा रिस उठ्न थाल्यो भने उल्टा गन्ती सुरु गरौं । लामो स्वास लिऔं र वर्तमानलाई ध्यान दिऔं । सबैलाई क्षमादान गरौं । क्षमादान सबैभन्दा ठुलो दान हो ।
रिसको प्रबन्ध गर्ने केही उपायहरू

१. प्रतिक्रिया दिनु अगाडि उल्टो गन्ती १०० बाट ९९,९८ गर्दै सुरु गरौं,

२. जोसँग रिस उठेको छ त्योबाट टाढा जाऔँ,

३. शान्त भएको बेला रिसलाई हेरौं र त्यसबाट पर्ने नकारात्मक असरलाई सोचौं,

४. कसैलाई केही भन्नुभन्दा पहिले आफैँले राम्रोसँग सोचौं,

५. एक पटक शान्त भएपछि मात्र रिसलाई सम्झौं,

६. शारीरिक व्यायामलाई ध्यान दिऔं,

७. शान्त रहन समय निकालौं,

८. सम्भावित र समाधानका उपायहरू केके हुन सक्छन् सोचौं । जस्तैः ध्यान केन्द्रित गर्नु,

९. कसैलाई दोषारोपण नगरौं, नकारात्मक भावनाबाट टाढै रहौं,

१०. क्षमादान गर्न सिकौं

११. तनाव कम गर्न मनोरञ्जन गरौं दिल (हृदय) खोलेर हाँस,

१२. गहिरो स्वास लिंदै, व्यायाम गरौं, व्यायाम ध्यान गरौं,

१३. कुनै राम्रो सुन्दर ठाउँमा जाऔँ, जान नसके त्यसको कल्पना गरौं साथै आत्मानुभूति गरौं,

१४. शारीरिक गतिविधिमा व्यस्त रहौं,

१५. आफ्नो जीवनको बारेमा सोच्ने तरिकाको पुनर्विचार गरौँ,

१६. डायरीमा लेख्न थालौं र

१७. सकारात्मक सोचलाई अगाडि बढाऔं ।

सन्दर्भ सामग्री

Master of Science yoga and value education paper-3 spiritual health and wellness annamalai university tamilnadu

प्रस्तुत लेख NNTA Chitwan को शिक्षक बुलेटिन अङ्क ७ मा प्रकासित छ ।

 

प्रस्तुत लेख NNTA Chitwan को शिक्षक बुलेटिन अङ्क ७ मा प्रकासित छ ।

Post a Comment

Previous Post Next Post